टापुमा फसेका दुईजनाको सकुशल उद्धार

असार २५
डडेलधुरा। डडेलधुरा जिल्लाको परशुराम नगरपालिका – ६ र ७ को सिमानामा रहेको साँदनी खोलाको बीच टापुमा फसेका दुईजनाको आज सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
उद्धार गरिएकाहरूमा सोही नगरपालिका ६ बस्ने १२ वर्षीया रीतु भारती र २५ वर्षीया भुवनेश्वरी सिंह छन्।
उनीहरू आज दिउँसो बाख्रा चराउन गएका वेला अविरल वर्षाको कारण उक्त खोलामा पानीको बहाव बढ्न गई खोलाको बीच टापुमा फसेका थिए।
त्यसलगत्तै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तातोपानी र साँदनीबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाफौजले उनीहरूको सकुशल उद्धार गरेको हो। उनीहरूको अवस्था भने अहिले सामान्य रहेको छ।