आज चार प्रदेशमा भारी वर्षाको सम्भावनाःसतर्कता अपनाउन महाशाखाको अनुरोध
 
                                साउन – २, २०८२ शुक्रबार,
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेश लगायत देशका पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
 


 अर्थपूर्ण न्युज
                                    अर्थपूर्ण न्युज                                 
         
         
         
         
         
         
         
        
             
        
             
        
             
        
             
        
             
        
 
        
 
        
 
        
 
        
 
        
                                        
                                     
        
 
        
 
        
 
        
