बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

साउन -२०
मकवानपुर। बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । बानियाँ ११० सदस्यीय प्रदेशसभामा कांग्रेस र नेकपा एमाले गठबन्धनको समर्थनमा ६४ सांसदको बहुमतका आधारमा सरकार प्रमुख बन्नु भएको हो ।
मकवानपुर घर भएका बानियाँ कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत हुनुहुन्छ । उहाँ डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामापछि बागमतीको नेतृत्व सम्हाल्ने छैटौं व्यक्ति हुनुहुन्छ ।
मकवानपुरबाट यो जिम्मेवारी पाउने बानियाँ दोस्रो व्यक्ति हुनुहुन्छ । यसअघि बागमतीका पहिलो मुख्यमन्त्री डोरमणि पौडेल पनि मकवानपुरका हुनु हुन्थ्यो ।
बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका रूपमा आज शपथ ग्रहण गरेसँगै एमालेका तर्फबाट मन्त्री बन्ने व्यक्तिहरूको नाम प्रायः टुङ्गिएको छ ।
एमालेबाट यसअघिको सरकारमा समेत संलग्न एक जनामन्त्री पुनः दोहोरिने भएका छन् भने अन्य पाँच जना नयाँ अनुहार हुने निश्चित जस्तै छ । दोहोरिने मन्त्री स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका किरण थापा मगर हुनुहुन्छ ।
एमालेका तर्फबाट सम्भावित मन्त्रीहरूको विवरण यस प्रकार छ ः
किरण थापा मगर – स्वास्थ्य मन्त्री
जयराम थापा – श्रम, रोजगार तथा यातायातमन्त्री
भरतबहादुर केसी – वन तथा वातावरणमन्त्री
मधुसूदन पौडेल – कृषि तथा पशुपक्षी विकासमन्त्री
डा। दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकासमन्त्री
बिन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री
आज दिउँसोसम्म कुनै फेरबदल नभए यी नामहरू अन्तिम हुने र उनीहरूले आजै शपथ लिने तयारी भएको एमाले स्रोतले जनाएको छ । यस्तै सत्ता साझेदार कांग्रेसबाट भने प्रारम्भिक चरणमा दुई जना मात्र मन्त्री नियुक्त हुने सम्भावना रहेको बुझिएको छ ।