रुरुक्षेत्रको वृद्धाश्रममा जेष्ठ नागरिक मिलन केन्द्रको उद्घाटन

प्रतिमा भट्टराई
साउन–४,२०८२
गुल्मी।गुल्मको रुरुक्षेत्र गाउँपालिका वडा नं १ रिडी स्थित मानव कल्याण वृद्धाश्रम परिसरमा जेष्ठ नागरिक मिलन केन्द्रको हिजो शनिबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ।
गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा वृद्धाश्रमका अध्यक्ष जीवनकुमार कसजुले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य जेष्ठ नागरिक साधक दुर्गादत्त पौडेलले प्रस्तुत गर्नुभएको थियो।
उक्त मिलन केन्द्रले गाउँ तथा सहरी क्षेत्रमा रहेका जेष्ठ नागरिकलाई एकै स्थानमा भेला गराई भक्ति संगीत, सत्संग, अनुभव आदानप्रदान तथा समय सदुपयोगको अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।
अध्यक्ष ज्ञवालीले रुरु क्षेत्रलाई नेपालका चारधाममध्ये एक मानिने धार्मिक, पौराणिक र पर्यटकीय स्थलका रूपमा चिनाउँदै जेष्ठ नागरिक लक्षित कार्यक्रमहरू अत्यन्त जरुरी रहेको बताउनु भयो। साथै, गाउँपालिकाले यस्ता रचनात्मक तथा सेवामूलक कार्यक्रमहरूमा निरन्तर सहयोग गर्ने पनि घोषणा गर्नु भयो।
संस्थाका सचिव सुवर्णलाल कक्षपतिले रुरु क्षेत्र जेष्ठ नागरिकको संख्या बढ्दो रहेको ठाउँ भएकाले मिलन केन्द्रको महत्व अझ बढेको धारणा राख्नु भयो।
कार्यक्रममा स्व। पशुपतिप्रसाद अमात्य वृद्धाश्रम स्थापनामा पुर्याएको योगदानलाई सम्झँदै अध्यक्ष कसजुले यस संस्थाबाट निःशुल्क स्वास्थ्य सेवा, खाद्यान्न, कपडा वितरण, सत्संगजस्ता सेवाहरू प्रभावकारी रूपमा सञ्चालन भइसकेको जानकारी गराउनु भयो।
कार्यक्रममा स्थानीय जेष्ठ नागरिकहरूको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो।