थोर्गामा सुरु गरियो दुनाटपरी व्यवसायःस्थानीय सरकारले बजारीकरणमा सहजीकरण गर्ने

टोपराम केसी
साउन–६,२०८२
गुल्मी।गुल्मीको रुरु क्षेत्र गाउँपालिका ३ थोर्गामा दुनाटपरी व्यवसाय सुरु गरिएको छ।
थोर्गेली दुनाटपरी समुहले गत जेठ ११ देखि १३ गते सम्म वडा नं–३ को आयोजना तथा लघु उद्यम विकास शाखा रुरुक्षेत्र गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत दुनाटपरी उत्पादन सम्बन्धि आधारभूत सीप तालिम प्राप्त गरेको थियो।
तालिम सहित मेशिन पनि प्राप्त गरेपछि उक्त लघु उद्यमी समुहले आज देखि व्यवसायिक दुनाटपरी व्यवसाय सुरु गरेको वडा महिला सदस्य विष्णु केसीले अर्थपूर्ण मिडियालाई जानकारी दिनु भयो।उहाँले स्थानीय स्रोतसाधनको उचित सदुपयोग गर्ने योजना अनुरुप महिला दिदिवहिनीहरुले सो व्यवसाय सुरु गरेको बताउनु भयो।उहाँले आफ्नो ठाउँ प्रर्याप्त साल पाईने जनाउँदै सालको पातको अभाव नरहुन्जेल उहाँहरुको व्यवसाय निरन्तर चलिरहने र स्थानीय सरकारले प्रभावकारी बजारीकरणमा समेत सहजीकरण गर्ने बताउनु भयो।
उहाँ सो कार्यक्रम आफ्नै पहलमा त्यस क्षेत्रमा परेको स्मरण गराउँदै यो आर्थिक वर्ष भने महिला दिदिबहिनीका लागि मादल बजाउने कार्यक्रम तर्फ आफूले जोड दिएको बताउनु भयो।
शोभा क्षेत्री अध्यक्ष रहेको थोर्गेली दुनाटपरी समुहमा ११ जना सदस्य हुनुहुन्छ।समुहले उत्पादित टपरी रु ८०,ठुलो दुना रु ५० र सानो दुना रु ३५ को दरले १।१ दर्जन विक्री गर्ने गरि योजना बनाएको छ।