विद्या भण्डारीको सक्रिय राजनीतिमा प्रवेश अध्यक्षकै सहमतिमा हुन्छ: रघुवीर महासेठ

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमनबारे पार्टीभित्र कुनै विवाद नरहेको स्पष्ट पारेका छन् । उनका अनुसार भण्डारी यदि सक्रिय राजनीतिमा आए त्यो पार्टी अध्यक्ष केपी शर्मा ओलीको सहमति र प्रस्तावमै आउने बताए ।
आज जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै महासेठले भने, ‘बजारमा हल्ला छ कि अब पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीमा अन्तरविरोध बढिरहेको छ र कार्यकर्ताहरु कित्ताकाट गरिरहेका छन्, दिनहुँ मिडियामा जुन कित्ताकाटको समाचार आइरहेको छ, त्यसमा कुनै पनि सत्यता छैन । अध्यक्ष र पूर्वराष्ट्रपति बिच कुनै अन्तरविरोध छैन ।’
उनले भण्डारीले सक्रिय राजनीतिमा फर्कने इच्छा देखाएको पुष्टि गर्दै कसरी अघि बढ्ने भन्नेबारे भने अहिलेसम्म औपचारिक निर्णय नभएको बताए। महासेठले भने, ‘यदि उहाँ राजनीतिमा आउनुहुन्छ भने त्यो अध्यक्षकै सहमति र प्रस्तावमा हुनेछ।’
संविधान र एमालेको विधानले पूर्वराष्ट्रपतिहरुलाई सक्रिय राजनीतिमा आउन बन्देज नगरेकाले विद्या भण्डारी पनि राजनीतिमा फर्किन सक्ने महासेठको भनाइ छ । पार्टीको सचिवालयमा पनि यसबारे छलफल भएको बताउँदै महासेठले भने, ‘यदि उहाँ सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भने हामीले किन रोक्ने ? किनकी संविधान र विधानले त रोक्ने अधिकार दिएकै छैन ।’
राजनीतिमा आउने नआउने भन्ने कुरा पूर्वराष्ट्रपति भण्डारीको व्यक्तिगत विषय भएको उनले बताए ।