एनटीभीए सचिव पदमा टेक पुन मगरको उम्मेदवारी घोषणा

एनटीभीए सचिव पदमा टेक पुन मगरको उम्मेदवारी घोषणा

सुरेश छन्त्याल आगामी २०८२ साल भदौं ३ गते (१९ अगस्ट २०२५) हुने नेपाल पर्यटक यातायात व्यवसायी संघ (NTVA) को निर्वाचनमा सचिव पदका लागि टेक पुन मगरले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। बरिष्ठ पर्यटक यातायात व्यवसायी भिम बहादुर गोले तामाङको नेतृत्वमा रहेको समूहबाट उम्मेदवार बनेका मगर नरम, मिजासिलो र भद्र स्वभावका व्यवसायीका रूपमा परिचित छन्। उम्मेदवारी घोषणा समारोहमा मगरले पर्यटक यातायात क्षेत्रको संरक्षण, संवर्द्धन र प्रवर्द्धनलाई आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे। उनले भने, “वर्तमान कार्यसमितिको पाइपलाइनमा रहेका अधूरा योजनालाई निरन्तरता दिँदै प्रादेशिक कार्यालय विस्तार, इम्बुस्ट नम्बरसम्बन्धी व्यवसायीको अधिकार सुनिश्चित, सवारी पार्किङ्ग समस्या समाधान, आधुनिक भाडादर लागू र रातो नम्बर प्लेट सञ्चालनलाई पर्यटक यातायात कम्पनीमा मात्र सीमित गर्ने हाम्रो योजना हो।” सचिव पदका उम्मेदवार मगरले व्यवसायीमैत्री वातावरण निर्माणका लागि शुद्ध सेवाभाव र पारदर्शितासहित काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, सम्पूर्ण पर्यटन व्यवसायी, चालक तथा सहचालकलाई आगामी निर्वाचनमा अमूल्य मत दिई आफूलाई विजयी गराउन आग्रह गरेका छन्।