कसैले चाहँदैमा आफ्नो पार्टी सदस्यता खारेज नहुने भण्डारीको तर्क

अर्थपूर्ण मिडिया
साउन–९
काठमाडौं ।पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेका विषय विवादको विषय नै नभएको बताउनु भएको छ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूले विधिपूर्वक नै पार्टी सदस्यता नवीकरण गरेकाले यसलाई विवादको विषय बनाउनै नपर्ने बताउनु भएको हो।
एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नै नभएको ठहर गरेपछि उहाँले आफ्नो धारणा सार्वजनिक गर्नु भएको हो।
‘पार्टी केन्द्रीय कमिटी अघि अध्यक्षसँग मैले विधिवत् ढंगले नै पार्टी सदस्यता नवीकरण गरेको र त्यसैका आधारमा राजनीतिमा सक्रिय भएको बताएको थिएँ । यसको भोलिपल्ट केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नभएको भनेर गरेको निर्णय विज्ञप्तिबाट थाहा पाएँ’, भण्डारीले भन्नु भयो, ‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यो विवादमा पार्ने विषय नै होइन।’
अन्तिममा पत्रकारहरूले राखेको जिज्ञासामा भण्डारी थप कडा रुपमा प्रस्तुत हुनु भयो । उहाँले एमाले अध्यक्ष केपी ओलीतिर इंगित गर्दै भन्नु भयो कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खारेज हुँदैन।'