जाजरकोटमा परियोजना अनुगमन बालमैत्री शिक्षा र बाल अधिकार संरक्षणमा उल्लेखनीय उपलब्धि

जाजरकोटमा परियोजना अनुगमन बालमैत्री शिक्षा र बाल अधिकार संरक्षणमा उल्लेखनीय उपलब्धि

सारदा पुन भदौ १८ ,जाजरकोट । 

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले संयुक्त रुपमा नलगाड नगरपालिका–२, डाँडागाउँस्थित श्री जनक आधारभूत विद्यालयमा सञ्चालित परियोजनाको सोमबार अनुगमन गरेको छ । अनुगमन टोलीले समावेशी गुणस्तरीय शिक्षा परियोजना र संरक्षण सामुदायिक संलग्नता तथा बाल स्पोन्सरसिप परियोजना अन्तर्गत विद्यालय र समुदायमा भइरहेका गतिविधिहरूको प्रभावकारिता मूल्याङ्कन गरेको हो ।

अनुगमनका क्रममा विद्यालयमा बालमैत्री सिकाइ वातावरण, महिला तथा अभिभावकसँग अन्तरक्रिया, जोखिममा रहेका बालबालिकासँग प्रत्यक्ष अनुभव आदान–प्रदानलगायतका गतिविधिहरू सम्पन्न भएका थिए । उक्त दिन विद्यालयमा जम्मा   विद्यार्थीको सङ्ख्या २३३ र उपस्थित विद्यार्थी १३६ जना  थिए भने समग्रमा विद्यार्थीहरूको सहभागिता ठिकै थियो ।

कक्षा ३ मा भने  ४ जना मात्र विद्यार्थी उपस्थित रहेका थिए । प्रधानाध्यापक जयबहादुर ओलीका अनुसार वर्षाको समयमा आवतजावतमा समस्या हुने भएकाले सो कक्षामा विद्यार्थी कम देखिएका हुन् ।

अनुगमन अनुसार विद्यालयमा बालमैत्री पठनपाठन, बसाइ व्यवस्था, शिक्षकको सक्रियता, स्टेशनरी तथा खेल सामग्रीको उपलब्धता र बालबालिकामा आत्मविश्वास, सहकार्य, नेतृत्व क्षमता, पढाइप्रतिको चासो तथा कला–साहित्यतर्फको रुचि बढ्दै गएको देखिएको छ । समुदायमा सीप तथा ज्ञान वृद्धि, आर्थिक सुधार र बालविवाह रोकथाममा समेत सकारात्मक प्रभाव परिरहेको छ । परियोजना अन्तर्गत विद्यालयमा आकर्षक दुई कोठे बालमैत्री भवन निर्माण सम्पन्न भएको छ । सो भवन वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग, पाँचतारा युवा संरक्षक मञ्चको प्राविधिक सहयोग नलगाड नगरपालिकाको समन्वय तथा विद्यालयको सहकार्यमा बनेको हो  । यसैगरी, जिल्लाका १५ विद्यालयमा १४ बाल कचहरी तथा बाल भेला सम्पन्न भएका छन् । हालसम्म ५,३०० बालबालिका स्पोन्सरसिप परियोजनामा दर्ता भएका छन् भने ३१ वटा बाल क्लब गठन लगाएत यस परियोजना बाट थुप्रै कार्यक्रम गरिएको छ । भेरी नगरपालिका–८ लाई बालमैत्री स्थानीय शासन मुक्त वडा र वडा नं. ९ लाई बाल विवाह निषेध क्षेत्र घोषणा गरिएको छ । यी उपलब्धिले बालबालिकाको अधिकार प्रवर्द्धन, सामाजिक चेतना र समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याएको सरोकारवालाले बताएका छन् । परियोजना वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र पाँचतारा युवा संरक्षक मञ्च, साझेदारि मा ३ वर्षदेखि सञ्चालनमा रहेका कार्यक्रमहरू आगामी सेप्टेम्बर ३० मा सम्पन्न हुने  कार्यक्रमका संयोजक बिरेन्द्र कुमार थारुले जानकारी दिनुभयो । यद्यपि, परियोजना सुरुवातमा ५ वर्षे रणनीति बनाएर अघि बढाइए पनि हालसम्म ३ वर्षे अवधिमा सकिने बताएको हो  ।