मनसुनी वायुको प्रभाव कमजोरः-थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

साउन–९
काठमाडौँ ।हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
जल तथा मौैसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् डेबिड ढकालले मनसुनी वायु कमजोर हुँदा मधेश प्रदेशलगायत मुलुकका विभिन्न स्थानमा वर्षा कम भइरहेको जानकारी दिनु भयो।
‘मधेश क्षेत्रमा पानी नै नपरेको त होइन। कतै भारीदेखि अतिभारी वर्षा पनि भएको छ। कतै वर्षा नै भएको छैन। अनि अति भारी नै वर्षा भए पनि धेरैबेर वर्षा भएको छैन’, उहाँले भन्नु भयो, ‘आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दा कोशीका पहाड र तराई, मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। तर थोरै समय पानी पर्दा कृषिमा राहत भने नपुग्न सक्छ। अर्को साता भने राम्रो वर्षा हुने अनुमान छ। तर कहिलेकाहीँ मौसमी प्रणाली परिवर्तन भइदिएर फरक पर्न सक्छ।’
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
त्यसैगरी राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।