मौसम अनुसारको व्यवसायमा केन्द्रित थापाःहिजोआज आँपको व्यसाय तर्फ व्यस्त
 
                                प्रतिमा भट्टराई         
साउन–६,२०८२  
पाल्पा।पाल्पाको तानसेन नगरपालिका–१४ अन्तर्गत बुटवल–तम्घास सडकखण्डमा ग्रामीण भेगका पुराना जातका आँपहरू सडक छेउमै बिक्री हुने क्रम बढेको छ।
एउटा परिचित अनुहार हुनुहुन्छ पुष्पा थापा, जो विगत केही समय देखि आँपको सिजनमा वनजङ्गलबाट आँप संकलन गरी सडक छेउमा बिक्री गर्दै आउनु भएको छ।
उहाँ बिहान सबेरै उठेर नजिकको वनतिर लाग्नुहुन्छ र, आँप टिपेर घर लिएर, घरायसी काम सकेर बजारतिर लाग्ने गर्नुहुन्छ। हिजोआज यो क्रम उहाँको दैनिकी जस्तै भैसकेको छ । उहाँले दिनको १५०० देखि २००० रुपैयाँ सम्म आम्दानी गर्ने गरेको बताउनुहुन्छ।
उहाँको व्यवसाय मौसम अनुसार परिवर्तन हुने गर्दछ। धार्मिक पर्वका अवसरमा कालीगण्डकी नदी किनारमा गुड, प्रसाद, नरिवल, फूल आदिको व्यापार गरेर पनि राम्रो आम्दानी गर्दै आउनु भएकी पुष्पा आजभोली आँपको व्यवसाय तिर व्यस्त देखिनु भएको हो।
सडक छेउमा पर्याप्त मात्रामा सजाइएका आँपहरू किन्नका लागि यात्रु र सवारी चालकहरूकै भीड लाग्ने गरेको देखिन्छ। यति मात्रै होइन, लिची, मकै, नासपाती, च्याउ जस्ता मौसमी उपजको व्यापारमा पनि पुष्पाको सक्रियता देखिन्छ, जसका कारण धेरैजसो ग्राहकहरू उहाँलाई चिन्छन् र खोज्दै आइपुग्ने गर्छन्।
जीवनयापनका लागि परिश्रम र लगनशीलता सँग अघि बढ्दै आउनु भएकी पुष्पा थापाको यो आत्मनिर्भरताको प्रयास ग्रामीण महिलाहरुका लागि उपयुक्त र प्रेरणादायी  स्रोत बनेको छ।
 


 अर्थपूर्ण न्युज
                                    अर्थपूर्ण न्युज                                 
         
         
         
         
         
         
         
        
             
        
             
        
             
        
             
        
             
        
             
        
 
        
 
        
 
        
 
        
 
        
                                        
                                     
        
 
        
 
        
 
        
