रिबन काट्ने विवादले मेलामा झडपः- मेयर सहित ५ जना घाइते

साउन-३१
रौतहट।कृष्ण जन्माष्टमी मेलाको उद्घाटन कार्यक्रममा विवाद उत्पन्न भई रौतहटको देवाही गोनाही नगरपालिकामा दुई पक्षबीच झडप भएको छ।
शनिवार देवाही गोनाही नगरपालिका वडा नं–९ को धरहरीमा आयोजित मेलाको उद्घाटन कार्यक्रममा रिबन काट्ने विषयलाई लिएर सुरु भएको विवाद झडपमा परिणत हुँदा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहसहित पाँच जना घाइते भएका हुन्।
हिंसात्मक घटनामा घाइते भएका मेयर साहलाई गरुडास्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा भर्ना गरिएको छ। उनको टाउकोमा १४ वटा टाँका लगाइएको नगरप्रमुखका सहयोगी राम प्रधेश पटेलले बताएका छन्।
यसैगरी झडप नियन्त्रणका लागि खटिएका बरिष्ठ प्रहरी हवलदार जगदीश यादव र धनसुन्दर ठाकुर, स्थानीयवासी श्याम विनय साह र रामविकास साह पनि घाइते भई सोही अस्पतालमा उपचाररत रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा स्थानीय युवासँग थप धकेलाधकेल भएको थियो। सो क्रममा संलग्न रहेको आरोपमा देवाही गोनाही–९ धरहरी टोलका राधामोहन साह, विनोद साह र रितिक साहलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको डिएसपी राजन कार्कीले जानकारी दिए।