रिब्दिकोटमा अकबरे खुर्सानीको धमाका ः- बारीभरि राताम्य, करोडौंको कारोबार

रिब्दिकोटमा अकबरे खुर्सानीको धमाका ः- बारीभरि राताम्य, करोडौंको कारोबार

प्रतिमा भट्टराई          
रिडी।पाल्पाको रिब्दिकोट गाउँपालिकाका किसानहरू अहिले अकबरे खुर्सानी टिपेर संकलन केन्द्रसम्म पुर्‍याउन भ्याइनभ्याइ व्यस्त भएका छन्। आर्थिक वर्ष २०७६ सालदेखि शुरु गरिएको “अकबरे खुर्सानी कार्यक्रम” अहिले गाउँपालिकाभरि सफल बनेको छ।

गाउँपालिकालाई ‘खुर्सानीको हब’ बनाउने उद्देश्यका साथ तत्कालीन अध्यक्ष नारायणबहादुर जिसीको नेतृत्वमा २०० रोपनीबाट सुरु भएको यो कार्यक्रम अहिले बढेर करिब १३०० रोपनीमा फैलिएको छ। पूर्व अध्यक्ष जिसीका अनुसार विगतमा ५ करोडभन्दा बढीको कारोबार भएको यो खुर्सानी व्यवसायले यस वर्ष करिब ८ करोड रुपैयाँभन्दा माथिको कारोबार गर्ने अनुमान गरिएको छ।

साना किसानलाई समेत तालिम, प्रशिक्षण र प्राविधिक सहयोग उपलब्ध गराएर सुरु गरिएको यो अभियानले अहिले बस्तीबस्ती, टोलटोल र बजारछेउछेउमा समेत उत्पादन बढाएको छ। खुर्सानी टिपेर बिक्री गरेका किसानहरू दैनिक घरायसी खर्च धान्न सफल भएका छन्।

हाल पाल्पा, बुटवल, स्याङ्जा, भैरहवा, चितवनका साथै केही विदेशी बजारसम्म समेत रिब्दिकोटको खुर्सानी आपूर्ति भइरहेको छ। ठूला चाउचाउ उद्योगदेखि मसलाको पाउडर उत्पादन गर्ने कम्पनीहरूले समेत यहाँको अकबरे खुर्सानीलाई प्राथमिकता दिँदै आएका छन्।

संकलन केन्द्र हार्थोकमा स्थापना गरिएको छ भने त्यहाँबाट यातायात मार्फत विभिन्न स्थानमा पठाइने गरिएको छ। उद्योगहरूको अत्यधिक मागका कारण किसानहरूले उत्पादन धान्नै नसक्ने अवस्थामा पुगेको स्थानीय व्यापारीहरूको भनाइ छ।

“खुर्सानीबाट पनि ठूलो आम्दानी गर्न सकिन्छ भन्ने कुरा किसानहरूले अहिले मात्र व्यवहारमै अनुभव गरेका छन्। यसले रिब्दिकोटलाई खुर्सानी उत्पादनको केन्द्रका रूपमा स्थापित गरिदिएको छ,” पूर्व अध्यक्ष जिसीले भन्नुभयो।

यता, वर्तमान अध्यक्ष नारायणबहादुर कार्कीले समेत किसानका कार्यक्रमलाई निरन्तरता दिँदै, उत्पादन र बजार व्यवस्थापनमा सहयोग गर्ने आश्वासन दिनु भएको छ।