स्वदेशमा नै अध्ययनको अवसर सिर्जना गर्न सरकारलाई अनुरोध 

स्वदेशमा नै अध्ययनको अवसर सिर्जना गर्न सरकारलाई अनुरोध 

साउन-२०        
काठमाण्डौ।गाउँपालिका राष्ट्रिय महासङ्घले उच्च शिक्षाका लागि तयार भएका विद्यार्थीलाई स्वदेशमा नै अध्ययनको अवसर सिर्जना गर्न सरकारसँग अनुरोध गरेको छ ।

महासङ्घले आज विज्ञप्ति निकालेर कक्षा १२ तथा माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) को नतिजामा सुधार भएकोमा उत्साहित भएको जनाएको छ । महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले निकाल्नु भएको विज्ञप्तिमा उच्च शिक्षाका लागि तयार भएका विद्यार्थीलाई स्वेदशमा नै गुणस्तरीय र चाहेका विषयमा अध्ययन गर्ने अवसर सिर्जना गर्न सरकारसँग अनुरोध गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले हिजो प्रकाशित गरेको कक्षा १२ को नतिजा अनुसार यो वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो नतिजा गएको वर्षको तुलनामा ९ दशमलव ०२ प्रतिशतले सुधार भएको छ । त्यस्तै यस वर्ष एसईईको नतिजामा पनि सुधार भएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक भएलगत्तै हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै नेपालमै पढ्न आग्रह गर्नु भएको थियो ।

महासङ्घले विद्यालय शिक्षाको प्रभावकारिता बढाउन स्थानीय सरकारमा वित्तीय हस्तान्तरणको आकार बढाउन र विद्यालय शिक्षा सम्बन्धी सङ्घीय कानून छिटो जारी गर्न नेपाल सरकार र सङ्घीय संसद्को गम्भीर ध्यानाकर्षण पनि गराएको छ ।