गुल्मीमा सर्वोत्कृष्ट र उत्कृष्ट किसान सम्मानित

असार २६
गुल्मी । तीन जना अगुवा किसानलाई सम्मान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले कृषक सम्मान कार्यक्रम मार्फत सर्वोत्कृष्ट एक जना र उत्कृष्ट दुई जना किसानलाई नगदसहित बुधबार सम्मान गरेको हो ।
अगुवा किसान गोकर्ण नेपालीलाई सर्वोत्कृष्ट, मेघनाथ अर्याल र विशाल थापालाई उत्कृष्ट किसान घोषणा गर्दै सम्मान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयले जानकारी दिए ।
सर्वोत्कृष्ट किसान नेपालीलाई नगद १० हजार रुपैयाँ र उत्कृष्ट दुई जना अर्याल र थापालाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
सर्वोत्कृष्ट किसान बनेका नेपालीले इस्मा गाउँपालिका–३ गहतेमा ग्यालेक्सी कृषि तथा पशुपंक्षी फर्ममार्फत घाँस खेती गरिरहेका छन् । सात वर्षदेखि घाँस खेती गरिरहेका २६ वर्षीय नेपालीले १२० रोपनी क्षेत्रफल जमिनमा घाँस खेतीसहित नर्सरीमार्फत बिरुवा उत्पादन गरिरहेका छन् । उनले बाख्रा पालन समेत गर्दै आएका छन् ।
उत्कृष्ट किसान बनेका अर्यालले धुर्कोट गाउँपालिका–६ सिस्तुङमा साना ठुला गरि ३५ भन्दा बढी भैँसी पालन गरेका छन् । अर्याल पशुपंक्षी फार्म मार्फत उनले भैँसी पालनसहित अर्याल खाद्यान्न प्रशोधन तथा प्याकेजिङ उद्योगमार्फत स्थानीय धुर्कोटे चामल हालैमात्र बजारमा ल्याएका छन् । उनले ७२ रोपनी व्यक्तिगत र २८ रोपनी भाडामा लिएर धान खेती समेत गरेका छन् ।
अर्का उत्कृष्ट बनेका किसान थापाले गुल्मीदरबार गाउँपालिका–६ बाँसटारीमा हाल १ सय ५० वटा बाख्रा पालन गरिरहेका छन् । रेसुङ्गा एग्रो एण्ड रिर्सच फार्ममार्फत बाख्रा पालनसहित कफि, सुन्तला र कागती खेती गरिरहेका छन् । व्यक्तित तीन सय रोपनी र भाडामा पाँच सय रोपनी क्षेत्रफलमा धान र मकै समेत खेती गरेका छन् ।
सम्मानित हुँदै अगुवा किसान नेपाली, अर्याल र थापाले कृषि तथा पशुपालनको व्यवसायिक कर्ममा थप प्रेरणा मिलेको बताएका छन् । उनीहरू गुल्मी जिल्लाकै प्रेरणादायी किसानका रुपमा परिचित छन् ।