तल्लो ग्वादी विद्यालयका सबै विद्यार्थीलाई ट्र्याकसुट सहयोग

प्रतिमा भट्टराई रिडी रुरु क्षेत्र गाउँपालिका वडा नम्बर २ स्थित तल्लो ग्वादी आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको छ। यो सहयोग अधिकांश विद्यालयका पूर्व विद्यार्थी तथा केही अन्यत्र अध्ययन गरेका व्यक्तिहरूको पहलमा गरिएको हो। सामग्री हस्तान्तरण गर्दै सहयोगी कृष्ण बिकले विद्यालयका बालबालिकालाई आवश्यक सामग्री उपलब्ध गराउन पाउँदा खुशी लागेको बताउनुभयो। सहयोग वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव ज्ञवालीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा वडा अध्यक्ष घनश्याम अर्याल प्रमुख अतिथि रहनुभयो भने कार्यपालिका सदस्य हरि कला बराल, विद्यालयप्रेमी स्थानीय व्यक्तिहरू विशिष्ट अतिथि रहनुभयो। विद्यालयकी प्रधानाध्यापक सावित्रा पौडेलले यस्ता सहयोगले विद्यालयको खर्च कटौती हुनुका साथै अभिभावकलाई राहत पुगेको बताउनुभयो। साथै, सहयोगी कृष्ण बिक, मनिषा बराल, शंकर खनाल, रवि सुनार, प्रकाश ज्ञवाली, ईश्वरी ज्ञवाली, मदन बिक, लक्ष्मण बिक र विष्णु ज्ञवालीप्रति विद्यालय परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो। प्रमुख अतिथि वडा अध्यक्ष अर्यालले वैदेशिक रोजगारमा रहेका नेपाली तथा वडाबासीहरूबाट आधारभूत विद्यालय मात्र नभई अन्य विद्यालयहरूमा पनि सहयोग पुगीरहेको भन्दै आभार प्रकट गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञवालीले विदेशमा कमाएको रकमबाट बालबालिकाको लागि ट्र्याकसुट उपहार दिनु महान् उदाहरण भएको बताउनुभयो।