देशभरका  अधिकांश स्थानमा भारी वर्षा 

देशभरका  अधिकांश स्थानमा भारी वर्षा 

साउन २०                  
काठमाडौँ ।मौसम पूर्वानुमान महाशाखाले आज पनि दिउँसो तथा राति देशभर मौसम बदली र अधिकांश स्थानमा पानी पर्ने क्रम जारी रहने जनाएको छ।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिन अनुसार, आज दिउँसो स् देशभर अधिकांश बदली रहनेछ। कोसी र मधेस प्रदेशका केही स्थान साथै बाँकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।

आज राति  देशभर अधिकांश बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना छ।

मौसम महाशाखाले यहाँ ‘दिउँसो’ दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटर भन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटर सम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटर सम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटर सम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटर भन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।

यस्तै एक दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो। यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशत सम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ। त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ। यदि ८० प्रतिशत भन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिएको छ।