संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडःविशेष समितिमा सभापति नै रहने सहमति

असार २६
काठमाडौं । संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा जालसाजी भएको भन्दै छानबिन गर्न गठित समितिमा सभापति नै रहने सहमति भएको छ । संसदीय विशेष समितिमा सभापति हुनुपर्नेमा संयोजक राखिएको भन्दै सांसदहरूले विरोध गरेपछि सभामुख र राजनीतिक दलहरूबीच सभापति नै राख्ने सहमति भएको हो ।
विधेयकको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधानमा भएको जालसाजी छानबिन गर्न गठित संसदीय विशेष समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियारलाई संयोजक तोकिएको थियो । तर प्रतिनिधि सभा नियमावलीको नियम १८० अनुसार विशेष समिति गठन गर्ने र उक्त समितिको नेतृत्वकर्ता सभापति हुने व्यवस्था छ ।
त्यस कारण परियारलाई सभापति नभई संयोजक तोकिएकामा सांसदहरूले आपत्ति जनाएका थिए । समितिको संयोजक भनिँदा कार्यदल जस्तो हुने र यसले दिएको प्रतिवेदन वैध नहुने सांसदहरूको तर्क थियो ।
समिति सदस्यहरूले आज सभामुख देवराज घिमिरेलाई भेटेर यसबारे चासो राखेका थिए । समितिका सदस्यहरूले भेटेलगत्तै दलका सचेतकहरूले समेत सभामुखसँग छलफल गरेका थिए । खासगरी संसद् सचिवालयका कर्मचारी नै संयोजक राखिनुपर्ने अडानमा भएकाले सभामुख पनि त्यसैमा अडिग हुनुहुन्थ्यो ।
सभामुखले संयोजक रहने भन्दै संसद्मा जानकारी गराइसकेकाले त्यसलाई सच्याएर सभापति बनाउन पुनः संसद्मा जानकारी गराउनुपर्छ । यो प्रक्रियाले गलत सन्देश जाने सभामुखले बताएको सांसदहरूले जानकारी दिएका छन् ।
तथापि जीवन परियारलाई सभापति नबनाएसम्म बैठक नै नबस्ने अडानमा समिति भएपछि दलहरूसँगको छलफलमा सहमति भएको हो । सभामुखले यसअघि पनि समिति गठनमा खासै चासो देखाउनुभएको थिएन ।
दबाबका कारण ढिला गरी गठन गरेको समिति पनि नियमअनुसार नबनाइएकाले पनि अर्को शंका उब्जिएको छ । संसद् सचिवालयका कर्मचारीकै मिलेमतोमा कुलिङ प्रावधानमा जालसाजी भएको आशंका भइरहेकै बेला कर्मचारीहरूले नै समिति गठनमा पनि जालझेल गरेको सांसदहरूको आरोप छ ।
संसदीय विशेष समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएको छ ।