१४५ जनाको सामाजिक सुरक्षा भत्ता नविकरणः-घरदैलोमै सेवा पाउँदा स्थानीय खुसी

१४५ जनाको सामाजिक सुरक्षा भत्ता नविकरणः-घरदैलोमै सेवा पाउँदा स्थानीय खुसी

जन विश्वास मिडिया         
साउन-२१             
प्युठान।प्युठानको स्वर्गद्वारी नगरपालिका ५ सारीले सुरु गरेको सामाजिक सुरक्षा भत्ता नवीकरण अभियानको कार्यक्रम जारी छ। साउन १६ गते अर्थात् शुक्रबारबाट सुरु गरिको नविकरण कार्यक्रममा वडा कार्यालयमा पुगेर सेवा लिन नसक्ने अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण को व्यवस्था मिलाइएको वडा अध्यक्ष गिर बहादुर घर्ती मगरले जन विश्वास मिडियालाई जानकारी दिनु भयो।

उहाँका अनुसार अहिले सम्म पहिलो दिन २०जना,दोस्रो दिन  ५७ जना,तेस्रो दिन २१ र चौथो दिन ४७ जना गरि कुल १४५ जनाको घरमै पुगेर  सामाजिक सुरक्षा भत्ता नविकरण गरिएको छ। निरन्तरको वर्षा र सफ्टवेरमा देखिएको समस्याका कारण साउन २३ गते शुक्रबार देखि मात्र बाँकी स्थानका लाभग्राहीका लागि सामाजिक सुरक्षा भत्ता नविकरणको व्यवस्था मिलाइएको अध्यक्ष घर्ती मगरले जानकारी दिनु भयो।

उहाँका अनुसार यस बर्ष देखि अनलाइन मार्फत नवीकरण गर्ने व्यवस्था गरिएको र चालु आर्थिक वर्षका लागि  साउन देखी भादौ मसान्त सम्म नविकरणको अबधि तोकिएको छ।

हालसम्म सङ्गम टोल बिकास संस्था(सरोजा) खोलाखेत उपल्लो सारी को खड्केश्वर टोल बिकास संस्था,भुवनोट टोल विकास संस्था(कोलम्पा,टाराढिक,पल्लाढिक),रानीपोखरी टोलविकास संस्था(तल्लो माथिल्लो मैतार,अखनधारा),खड्कथानटोल विकास संस्था(पौवाली टोल,साउन टोल),सिद्धथान टोल विकास संस्था(उड्के, जिम्माल टोल,भैसाल टोल),शिवालय टोल विकास संस्था(रानीतार टोल,तल्ला टोल,टाकुरा)अन्तर्गतका १४५ जना अशक्त जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता नविकरण गरिएको छ ।

वडा कार्यालयले शनिबार समेत सामाजिक सुरक्षा भत्ता नविकरणको अभियान सञ्चालन गरेको थियो।अभियानमा जनप्रतिनिधि र वडामा कार्यरत कर्मचारीको सहभागिता रहेको छ।

घरदैलोमै सेवा लिन पाउँदा स्थानीय लाभग्राहीहरुले खुसी व्यक्त गरेका छन्।उता सामाजिक सेवा र विकासमा समर्पित वडा अध्यक्ष घर्ती मगरका पछिल्ला यस्ता कदमको चौतर्फी प्रशंसा भैरहेको छ।