२५ प्रतिशत युवाहरू खुला प्रतिस्पर्धाबाट शिक्षक हुने ठाउँ रहेको अध्यक्ष सुवेदीको भनाइ

२५ प्रतिशत युवाहरू खुला प्रतिस्पर्धाबाट शिक्षक हुने ठाउँ रहेको अध्यक्ष सुवेदीको भनाइ

साउन–२      
काठमाण्डौँ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले २५ प्रतिशत युवाहरू खुला प्रतिस्पर्धाबाट शिक्षक हुने ठाउँ रहेको बताउनु भएको छ। आज महासंघद्वारा  आयोजित  पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा बताउनु भएको हो।

महासंघले ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट र २५ प्रतिशत खुलाबाट शिक्षक पदपूर्ति गर्नुपर्ने अडान राख्दै आएपछि यस विषयमा सञ्चारकर्मीहरूले किन युवाहरूको लागि भने ठाउँ राखिएन भन्दै प्रश्न सोधेका थिए।

उक्त प्रश्नको जवाफ दिदै  महासंघका अध्यक्ष सुवेदीले भन्नु भयो‘हामी मात्रै शिक्षक हुनुपर्छ भनेका छैनौँ,७५ प्रतिशत त मागेका हौँ,२५ प्रतिशत त युवाहरू शिक्षक बन्न पाउने ठाउँ,अवसर छँदै छ।’

उहाँले लामो समयसम्म शिक्षण पेसामा लागेको भन्दै राज्यले विशेष हेर्नुपर्ने बताउनु भयो। शिक्षा समितिले शिक्षक पदपूर्ति गर्दा आन्तरिक प्रतिस्पर्धाबाट ६० र खुलाबाट ४० प्रतिशत गर्ने गरी सहमति जुटाएको थियो। तर,उक्त सहमति महासंघले मानेको छैन।

उता,विभिन्न विद्यार्थी संगठनहरूले १०० प्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै शिक्षक नियुक्ति हुनुपर्ने माग गर्दै आएका छन्।