गाउँपालिकालाई एमालेको ध्यानाकर्षणपत्रःवेवास्ता गरे थप संघर्षमा जाने चेतावनी

असार,३२
प्युठान।
नेकपा एमाले माण्डवी गाउँकमिटीले स्थानीय सरकारको पछिल्लो गतिविधि प्रति असन्तुष्टि जनाउँदै विभिन्न माग सहित ध्यानाकर्षणपत्र बुझाएको छ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् पुर्व गाउँपालिका अध्यक्ष श्रीधर रोका,नेकपा एमाले माण्डवी गाउँकमिटीका अध्यक्ष हेम बहादुर अधिकारी,उपाध्यक्ष सरिता थापा सहितको टोलीले पछिल्लो समय माण्डवी गाउँपालिका भित्र भएका जनताका गुनासो संबोधन,पिडितलाई समयमै न्याय दिइनु पर्ने तथा विकृति विसङ्गतिलाई अन्त्य गरि शुसासन युक्त पालिका निर्माण गर्न विशेष ध्यानकेन्द्रित गराउँदै आज गाउँपालिका अध्यक्ष नमराज अधिकारीको कार्यकक्षमै पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो।
ध्यानाकर्षण पत्रमा स्थानीय सरकार एक कार्यकारी अङ्ग भएको स्मरण गराउँदै संघीय कानुनसँग नबाझिने गरि कानुन बनाउने र कार्यान्वयन गर्ने अधिकार राखे पनि पालिकाको समग्र विकासका लागि दिगो रणनीतिक योजनाको सट्टा स्थानीय सरकार क्षणिक योजनामा रमाइरहेको टिप्पणी गरिएको छ।
स्थानीय सरकार आयमुलक आयोजना र जनताको सरोकारका विषयमा वेखवर रहेको,गठबन्धन दलवीच बादविबाद र जनताको विश्वासको संकटबाट गुज्रिरहेको पनि एमालेको आरोप छ।साथै जनताको घरदैलोमा सेवा प्रवाह गर्न स्थापित स्थानीय सरकारको ढोकामा ताबन्दी सम्म हुनु बिडम्बना भएको ठहर गर्दै उसले जनतासँग जोडिएका संवेदनशील विषयप्रति गम्भीर बन्न जोडदार माग गरेको छ।
यस्तै २०८०माघ २८ गतेका दिन माण्डवी गाउँपालिका १ देविस्थानडाँडामा गाउँपालिकाको जेसिवी मेसिनले ठक्कर दिदा स्थानीय ६४ वर्षीय ठगबहादुर घर्ती मगरको मृत्यु भएको घटनाको स्मरण गराउँदै सम्झौता बमोजिमको रकम पिडित पक्षलाई यथासिघ्र उपलब्ध गराउनु पर्ने,२०७९ असोज २७ देखि २२ सम्म आएको अविरल वर्षाका कारण घरवारविहिन हुन पुगेका घरपरिवारलाई उचित र सुरक्षित स्थानमा तत्काल व्यवस्थापन गर्नु पर्ने,अघिल्लो स्थानीय सरकारद्वारा निर्मित भौतिक संरचना प्रति वर्तमान सरकारको वेवास्ताका कारण अलपत्र र जीर्ण अवस्थामा पुगेका सार्वजनिक सम्पत्तिलाई संरक्षण गरि सञ्चालन गरिनु पर्ने,सार्वजनिक सम्पत्तिको दुरुपयोग र नीजिकरण जस्तै ः राजनैतिक प्रभावमा पार्ने कार्य तत्काल बन्द गर्न सुझाईएको छ।
गाउँपालिका भित्र अध्यापनरत कतिपय शिक्षकहरुले सामाजिक सञ्जाल,विद्यालय तथा गाउँठाउँमा गरेको राजनैतिक गतिविधिको छानबिन गरि कारवाहीको प्रकृया अगाडि बढाउन आग्रह गर्दै अनुदानमा आएको मलमा भएको अनियमितता बारे सामाजिक सञ्जालमा आएको प्रमाण सहितको विषय के हो भनी प्रश्न समेत गरिएको छ।आफुले विविध विषयमा माग राख्दै स्थानीय सरकारलाई बुझाएको ध्यानाकर्षण पत्र प्रति पालिका सरकारको तत्काल ध्यान जाने विश्वास व्यक्त गर्दै वेवास्ता गरिए थप संघर्षका कार्यक्रम अगाडि बढाउन बाध्य हुने नेकपा एमाले माण्डवी गाउँकमिटीको चेतावनी छ।