कपिलवस्तुको विजयनगरम आधारभूत अस्पतालमा आँखा उपचार सेवा सुरु

धर्मेन्द्र कुमार कुर्मी चौधरी
भदौ -६
कपिलवस्तु।कपिलवस्तुको विजयनगर गाउँपालिका-६ बद्धौरमा रहेको विजयनगर आधारभूत अस्पतालमा आँखा उपचार सेवा सुरु भएको छ ।
गाउँपालिकाको सहयोग र छन्द (कालेबाबु)नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा दुबै निकायबीच सम्झौता भए अनुसार साप्ताहिक रुपमा हरेक शुक्रबार आँखा उपचार सेवा र मोतिबिन्दुको निस्शुल्क शल्यक्रियाको शुभाराम्भ भएको अस्पतालले जनाएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्वास्थ्यलाई मध्यनजर गर्दै विजयनगर आधारभूत अस्पतालमै आँखा उपचार सेवाको सुरुवात गरिएको बताए । आँखा जस्तो अति संवेदनशील अङ्गको वर्षेनी बिरामी बढिरहेको अवस्थामा यहाँका नागरिकका लागि आँखाको उपचार सेवा सुरु गरिएको उनले बताए । अध्यक्ष थापाले स्वास्थ्य बिमा बोर्डसँग ५० प्रति छुटमा सम्झौता भएको बताउँदै सबैले अनिवार्य रुपमा स्वास्थ्य बिमा गर्नुपर्नेमा जोड दिए ।
नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड र विजयनगर आधारभुत अस्पताल बिच “प्रथम सेवा बिन्दु” का लागि समेत सम्झौता भएको उनले जिकिर गरे । गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउँदै यस अस्पतालमा दुई जना विशेषज्ञ डाक्टर सहित सेवा उपलब्ध भइरहेको उनले जनाए । सामान्य शल्यक्रिया सेवा लागि पनि एमडी डाक्टर सहित सेवा सञ्चालनको प्रक्रिया अगाडी बढाइएको अध्यक्ष थापाको भनाइ छ ।
यस्तै गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले यस अस्पतालमा उपलब्ध सेवा सुविधाहरुलाई लिनुपर्नेमा जोड दिइन् । आँखा उपचार केन्द्र सञ्चालनले गरिब, विपन्न र ग्रामीण क्षेत्र लगायतका परिवारले सहज रुपमा सेवा लिनुको साथै सेवाप्रति नागरिकको विश्वास पनि बढ्दै जाने बताइन् ।
यसैगरी ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवारले अस्पतालमा थप सेवाहरु विस्तार गर्दै अगाडी बढिरहेको बताउँदै जनतालाई सर्वसुलभ र प्रभावकारी सेवा सुविधाहरु प्रदानका लागि गाउँपालिका लागेको बताए । अस्पतालमा सेवा सुचारु पश्चात् दैनिक बिरामीहरुको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।
गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले गाउँपालिकामा बुधबार र बिहीबार सञ्चालित दुई दिने निस्शुल्क आँखा जाँच शिविरमा भेटिएका १ सय ११ जना मोतिबिन्दुका बिरामीहरुको शल्यक्रिया विजयनगर आधारभूत अस्पतालमै भइरहेको जानकारी दिए ।