नगरपालिका उत्कृष्ट विद्यार्थीलाई ल्यापटप र साईकल उपहार

असार २६
रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि बिभिन्न योजनाहरु घोषणा गर्दै कार्यान्वयन गर्दै आएको छ । नगरप्रमुखको सोँच र भिजन अनुसार बिभिन्न कार्यक्रमहरु लागु गरिएको हो । जसले गर्दा गत बर्ष भन्दा यस बर्ष शिक्षाको नतिजामा सुधार देख्न सकिन्छ । यसै कार्यक्रम अन्तरगत लुम्बिनी सांस्कृतिक नगरपालिकाले सामुदायिक विद्यालयबाट २०८१ सालमा कक्षा ८ र एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।
विद्यार्थी सम्मान कार्यक्रम अन्तरगत कक्षा ८ को जिल्लास्तरीय परीक्षामा नगर प्रथम हुने भगवानपुर माध्यमिक विद्यालयकी चित्रा श्रीवास्तवले ३ दशमलब ९४ जीपीए ल्याउँदै ल्यापटप पुरस्कार पाएकी छिन भने एसईईको परिक्षामा ३ दशमलब ६३ जीपीए ल्याएर नगर प्रथम हुन सफल कर्महवा माध्यमिक विद्यालयका सुर्जभान गुप्ताले पनि ल्यापटप पुरस्कार प्राप्त गरेका छन् ।
त्यसैगरी एसईईमा ३ दशमलव ४९ जीपीए ल्याउन कर्महवा माविका महेश गुप्ता, कर्महवा माविकै मनिषा यादवले ३ दशमलब ४९ जीपीए र श्री मसिनाबाबा नरेन्द्रपुरी माविका उमेश पासीले ३ दशमलब ४५ जीपीए ल्याएका छन । उनीहरु सवैलाई नगरपालिकाले साईकल उपहार दिएको छ । त्यसैगरी कक्षा ८ मा ३ दशमलब ८४ जीपीए ल्याउने कर्महवा माविकी बन्दना तेली र ३ दशमलब ७५ जीपीए ल्याउने तेनुहवा सामुदायिक माविका अमरेश गडेरियाले पनि साईकल उपहार पाएका छन ।
ल्यापटप र साईकल पुरस्कार वितरण गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले नगरभित्र कक्षा ८ र एसईईमा उत्कृष्ट नजिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम निरन्तर चलिरहने प्रतिवद्धता जनाउनु भयो । उहाँले आगामी दिनमा पुरस्कारलाई अझै व्यवस्थित गर्दै जाने र पुरस्कारको राशी समेत बढाउने प्रतिवद्धता जनाउनुभयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले नगरका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्ने नगर प्रमुखको सोँच र भिजन अनुसार विद्यार्थीहरुलाई ल्पापटप र साईकल उपहार प्रदान गरिएको बताउनुभयो । उहाँले पुरस्कार सानो भएपनि त्यसको प्रभाव ठूलो रहेको उल्लेख गर्दै यो पुरस्कारले विद्यार्थीहरुलाई पढाईमा राम्रो गर्न प्रेरणा मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।
पुरस्कृत भएका विद्यार्थीहरुले पुरस्कारले आफूहरुलाई आगामी दिनमा अध्ययनमा थप सफलताका लागि प्रेरणा मिलेको बताए ।
नगर प्रमुख सजरुद्दीन मुसलमानको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समिति सदस्य दिनेशकुमार उपाध्याय, भगवानपुर आवासीय विद्यालयका प्रधानाध्यापक असर्फीप्रसाद हरिजन, कर्महवा माविका प्रधानाध्यापक कृष्णप्रसाद यादवले पनि बोल्नुभएको थियो भने स्वागत शिक्षा अधिकृत लक्ष्मी पराजुलीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन प्रमिला पछाईले गर्नुभएको थियो ।
नगरपालिकाले यसै आर्थिक बर्षमा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि सम्मान गर्ने योजना रहेको शिक्षा अधिकृतले बताउनुभयो ।
यसअघि नगरपालिकाले एमबिविएस, इञ्जिनियर र मार्फासिस्ट लगायतका विषय अध्यनन गर्ने विद्यार्थीलाई आर्थिक सहयोग गरिसकेको छ ।