नेतृत्व लिनकै लागि सक्रिय राजनीतिमा ःपूर्व राष्ट्रपति भण्डारीको पुनरागमन

नेतृत्व लिनकै लागि सक्रिय राजनीतिमा ःपूर्व राष्ट्रपति भण्डारीको पुनरागमन

काठमाडौं ।पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमन नेकपा एमालेको नेतृत्व लिनकै लागि भएको बताउनु भएको छ।

हिजो इमेज टेलिभिजनमा अन्तर्वार्ताका क्रममा उहाँले अहिले नै घोषणा गर्ने समय आइनसकेको तर आफू एमालेको अध्यक्ष बन्नकै निम्ति राजनीतिमा फर्किएको बताउनु भएको हो।एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले यो कुरा भनिसकेको र पार्टी सदस्यता लिइसकेको उहाँको भनाइ छ। 

सक्रिय राजनीतिमा फर्केको घोषणा गरेपछि आम सञ्चार माध्यममा पहिलो पटक  पत्रकार जगदिश खरेललाई अन्तर्वार्ता दिने क्रममा पूर्वराष्ट्रपति भण्डारीलाई खरेलले एमालेमा फर्किनुको लक्ष्य अध्यक्ष बन्न हो भनेर प्रश्न गर्नु थियो।

जबाफमा उहाँले भन्नु भयो, ‘तपाईंले भनेको कुरामा सत्यता छ। ११ औं महाधिवेशन तोकिएको छैन। तर यो सार्वजनिक बहसको विषय भइसक्यो। मेरो कुरा त्यही लाइनतिरै जान्छ। समय आउनुपर्‍यो नि,’दुई कार्यकाल राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा फर्केर अब प्रधानमन्त्री बन्ने हो भन्ने खरेलको प्रश्नमा भण्डारीले आफू सबै विकल्पका लागि खुला रहेको तर्क राख्नु भयो।

पार्टी अध्यक्षमा ओली अझै दोहोरिने विश्वास आफूलाई नभएको बताउँदै उहाँले भन्नु भयो, ‘उहाँ दुई कार्यकाल अध्यक्ष भइसक्नुभयो। मैले चिनेको केपी ओली अझै मै हुन्छु भन्ने खालको होइन। एउटै कक्षाको जाँच दोहोर्‍याएर दिन्नँ भन्ने मान्छे हो उहाँ। उहाँ अध्यक्षमा दोहोरिनु हुन्न भन्ने मेरो विश्वास छ।’