सत्यवति समाज जापानको अध्यक्षमा धिरज भण्डारी चयन

सत्यवति समाज जापानको अध्यक्षमा धिरज भण्डारी चयन

साउन-२१          
टोकियो।जापानको राजधानी टोकियोमा “गुल्मी सत्यवति समाज जापान” को औपचारिक गठन गरिएको छ। गुल्मी जिल्लाको सत्यवति गाउँपालिकाबाट जापान आएका नेपालीहरूलाई एकता, सहकार्य र सामाजिक सेवामा संगठित गर्न यो समाज स्थापना गरिएको हो।

नवगठित समाजको अध्यक्षमा धिरज भण्डारी, उपाध्यक्षमा गोमा ढकाल र महासचिवमा प्रकाश ढकाल सर्वसम्मत चयन हुनु भएको छ।

समाज गठन कार्यक्रममा सत्यवति गाउँपालिका अन्तर्गतका विभिन्न वडाबाट प्रतिनिधित्व गर्दै समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले समाजको आवश्यकता, उद्देश्य र भावी योजनाबारे गहिरो छलफल गरेका थिए। कार्यक्रममा उपस्थित केहि बिदेशि पाहुनाहरुले समेत समाज गठनको शुभकामना दिएका थिए ।

समाजका पदाधिकारीहरूका अनुसार, विगतका वर्षहरूमा जापानमा लामो समयदेखि बसोबास गर्दा पनि जन्मथलोमा आउने विभिन्न प्राकृतिक विपत्ति र सामाजिक समस्यामा प्रत्यक्ष सहयोग गर्न नसकेको महसुस भएकाले यो समाजको स्थापना गरिएको हो। अबदेखि समाजमार्फत जन्मथलोमा सेवा, सहयोग र सहकार्य गर्ने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइनेछ। समाजको गठन प्रकृयामा जापानमा लामो समय बसोबास गर्दै आउनु भएका अग्रज  ब्यक्तित्तोहरु बाट समेत सुझाव संकलन गरिएको थियो ।  

 

त्यस्तै, समाजले सत्यवति गाउँपालिका र जापानस्थित सत्यवति बासीहरूबीच समन्वयको रूपमा कार्य गर्ने, साथै जापानमा रहेका सत्यवति बासीहरूलाई आपसी सद्भाव, सहयोग,  सांस्कृतिक संरक्षण र सामाजिक पहिचानको प्रवर्द्धनमा योगदान दिने लक्ष्य राखेको छ।

समाजका अध्यक्ष धिरज भण्डारीले निकट भविष्यमा समाजको संरचना विस्तार, र गाउँपालिकासँग प्रत्यक्ष साझेदारीमा विभिन्न विकास तथा सहयोग कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।